
विराटनगर। बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको उत्तरा क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक जनाको ज्यान गएको छ भने धेरै विद्यार्थी घाइते भएका छन्। बंगलादेशी सुरक्षाकर्मी र उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन्।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार विमान एक विद्यालय भवनमा ठोक्किएको थियो। दुर्घटनाको कारण भने अझै पुष्टि हुन बाँकी छ।
विमान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको एक विमान स्कूलको दुई तले भवनमा ठोक्किएको थियो। दुर्घटनापछि आगलागी समेत भएको थियो। घटनाको बेला केही विद्यार्थीहरू भागेर बाहिर निस्किन सफल भए पनि धेरैजसो भित्रै फसेका थिए।
घटनापछि सीमा रक्षक बंगलादेश (बीजीबी) का दुई टोली र अन्य उद्धारकर्मीहरू खटाइएको छन्। सेनाले घाइतेहरूलाई राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थानमा लगिरहेको जनाएको छ। अस्पतालका अनुसार दिउँसो ३ बजेसम्म २० जना घाइते भर्ना भइसकेका छन्, जसमध्ये अधिकांश विद्यार्थीहरू छन्।
घटनास्थलमा रहेका अभिभावकहरूले आफूले आफ्ना छोराछोरीसँग सम्पर्क गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। लक्की अख्तर र फिरदौसी बेगम नाम गरेका अभिभावकहरूले आफूले एकजना बच्चालाई मात्र सुरक्षित निकाल्न सकेको र अर्का अझै अड्किएको बताएका छन्।
सीसीटीभी फुटेज र सामाजिक सञ्जाल
घटनाको एक भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। तर, उक्त फुटेज दुर्घटनाको नै हो कि होइन भन्ने पुष्टि भएको छैन। हजरत शाहजलाल विमानस्थलका एक वरिष्ठ अधिकारीले भने दुर्घटनाको पुष्टि गरिसकेका छन्।
लेखा विभागका सहायक प्राध्यापक सबुज मियाले बंगलादेशी सञ्चारमाध्यम प्रथम आलोलाई जानकारी दिँदै विमान विद्यालयको मुख्य प्रवेशद्वारमा ठोक्किएको बताएका छन्। घटनापछि विमानमा आगो लागेको थियो र तत्काल दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो।
दुर्घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण मूल्याङ्कन आउन अझै बाँकी छ।