
विराटनगर। श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर अब मासिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ । सरकार, रोजगारदाता तथा श्रमिक संगठनबीच भएको त्रिपक्षीय सहमतिपछि तय गरिएको उक्त पारिश्रमिक सोमबार राजपत्रमा सार्वजनिक गरिएको हो।

गत असार ३२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि पारिश्रमिक निर्धारण गर्न सहमति जनाएको थियो। श्रम ऐन, २०७४ को दफा १०७ बमोजिम प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक तथा श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो समयदेखि चलिरहेको परामर्श र समन्वयपछि सहमति जुटेको जानकारी दिए। उनले यो सहमति गहिरो छलफल र सबल तर्कका आधारमा हासिल भएको बताए।
श्रममन्त्री शरत्सिंह भण्डारीले न्यूनतम पारिश्रमिक निर्धारण मात्रै होइन, यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
रोजगारदाता पक्षबाट प्रतिनिधित्व गरेका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले न्यूनतम पारिश्रमिकमा सहमति हुनु दिगो श्रम सम्बन्धको लागि महत्वपूर्ण भएको बताए।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो। नयाँ दर आगामी दिनमा कार्यान्वयनमा आउनेछ।