
विराटनगर।आगामी भाद्र ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘माग्ने राजा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्।

गीतमा बाबुल गिरीको स्वर, संगीत, शब्द र एरेञ्ज रहेको छ भने बालगायकको रूपमा रोनिश खड्काले साथ दिएका छन्। गीतको कोरियोग्राफी गम्भिर बिष्टले गरेका हुन्। अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट देखिएकाले यो गीत टिकटक तथा फेसबुक रिल्समा छिट्टै भाइरल हुने अपेक्षा गरिएको छ। गीतका शब्द सरल र आकर्षक छन्, जसले दर्शक-श्रोताको ध्यान सजिलै तान्न सक्छ।
ऋषि लामिछानेद्वारा निर्देशित ‘माग्ने राजा’ निर्देशकका रूपमा उनको करिब ८ वर्षपछि पुनरागमन भएको सिनेमा हो। सिनेमा निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्, जो हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार र वर्षा सिवाकोटीका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, र टिकटक मोडल पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ। सिनेमामा अभिनेता आर्यन सिग्देलको विशेष भूमिका समेत रहेको जनाइएको छ।
कथावस्तु, पटकथा तथा संवाद सामीप्य राज तिमल्सेनाले लेखेका हुन् भने संगीत दीपक शर्मा र बाबुल गिरीको रहेको छ। सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ।
भिडियो;-