हल्दीबारीमा घरमा लागेको आगो निभाउने क्रममा एकै परिवारका चार जना घाइते

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका–४, ओली चोकस्थित एक घरमा आगलागी हुँदा निभाउने प्रयासमा एकै परिवारका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ६० वर्षीय पुण्यप्रसाद ओलीको पक्की तीनतले घरको दोस्रो तलामा रहेको भान्सा कोठामा मंगलबार बिहान करिब ८:४० बजे रोटी पकाउने क्रममा अचानक आगलागी भएको थियो।

आगो नियन्त्रणमा लिने क्रममा घरधनी पुण्यप्रसाद ओली, उनका छोराहरू ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र बुहारी ३२ वर्षीया अनिता ओली घाइते भएको प्रहरीले जनाएको छ।

प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम रहेको छ भने बाँकी तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ। उनीहरूको प्रारम्भिक उपचार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि विराटनगर लगिएको छ।

आगोले घरको भान्सा कोठामा आंशिक क्षति पुर्‍याएको छ। स्थानीयको सहयोगमा करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरी स्रोतले जनाएको छ।