
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको सुनका गहनाका लागि हत्या गरिएको खुलासा भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार तिलमाया खड्का गत शनिबारदेखि सम्पर्कविहीन बनेकी थिइन्। खोजीका क्रममा आइतबार अपराह्न ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा उनको शव फेला परेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले वृद्धा नहरको पानीमा डुबेको अवस्थामा मृत भेटिएको जानकारी दिइन्। प्रारम्भिक अनुसन्धान अनुसार तिलमायालाई नहरमा देखेर उद्धार गर्ने काम हत्या आरोपित सीता ऋषिदेवकी १९ वर्षीया छोरी सोनु ऋषिदेवले गरेकी थिइन्। उनले तिलमायालाई घर पुर्याएर सुक्खा लुगा फेराइदिएपछि आफन्तकहाँ गएकी थिइन्।
त्यसपछि आमा सीताले वृद्धाले लगाएको सुनको मुन्द्री निकालेर उनलाई पुनः नहरमा फालेर हत्या गरेको प्रहरीले जनाएको छ। सुनका गहना लुट्ने नियतले वृद्धाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनास्थल नजिकै सीताको घरबाट वृद्धाको मुन्द्री खाल्डो खनेर गाडिएको अवस्थामा फेला पारेको छ। साथै, वृद्धाले लगाएका लुगा पनि घरभित्रै भेटिएको बताइएको छ।
प्रहरीले सीता ऋषिदेवलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। मृतक तिलमायाका परिवारले जाहेरी दिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
वृद्धाको शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको छ। घटनाको थप अनुसन्धान इन्स्पेक्टर कृष्णबहादुर खत्रीको टोलीद्वारा भइरहेको छ।