

चितवन ।गर्मीमा माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आइतबारदेखि दिनमै ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ ।
बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा गरी विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताए । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।
‘ अहिले सिंचाइका लागि विद्युत्को माग अत्याधिक भएका कारण फिडरअनुसार भार व्यवस्थापन गर्न यसो गरेको हो,’ उनले भने, ‘पानी नपर्नाका कारणले सिंचाइका लागि मोटरहरु चलाउँदा समस्या भएको हो । यो समस्या धेरै समय नजाला, मंगलबार बुधबारबाट सहज हुन्छ ।’
चनौली वितरण केन्द्रका आठवटा फिडरहरु छन् । फिडर अनुसारको तालिका प्रकाशित भएको छ । भरतपुरबाट चनौली आउने ३३ केभीको कन्डक्टर तारमा तीन सय एमपीएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने र विद्युत्को माग ४५० एमपीएरसम्म पुगेका कारणले समस्या बढेको उनले बताए ।
गत वर्ष नै बसेनीको सवस्टेसनबाट अर्को लाइन ल्याउने काम निर्माणकै क्रममा रहेको र अत्यधिक गर्मी र रोपाइँमा मोटर चलाउँदा भार बढेको श्रेष्ठको भनाइ छ । पश्चिम चितवनमा डिप बोरिङहरु पनि रहेको उनले बताए।