गोसाइँकुण्डमा बेपत्ता मोरङका दुई युवाको शव फेला

विराटनगर ।  रसुवाको धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव फेला परेको छ। डुबेका २६ वर्षीय सुजन ढकाल र २८ वर्षीय मनोज न्यौपानेको शव सोमबार बिहान १० बजे भेटिएको हो।
मृतक ढकाल विराटनगर महानगरपालिका–३ का बासिन्दा हुन् भने न्यौपाने बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गका निवासी थिए। दुबैजना आइतबार बिहान गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका थिए।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डुबेर मृत्यु भएको पुष्टि गरेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार घटनास्थलमा वस्तुस्थिति मुचुल्का तयार पार्ने काम भइरहेको छ।
मृतक ढकाल र न्यौपानेसहित १३ जना युवाको समूह गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए। दुर्घटनापछि अन्य साथीहरू घटनास्थलमै रहेका छन् र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवलाई गोसाइँकुण्ड गाउँपालिका–५ बाट धुन्चे ल्याएर मृतकका परिवारसँग सम्पर्क गरी बुझाउने तयारी भइरहेको छ।