

पथरी शनिश्चरे। मिस्टर नेपाल २०२५ मा सहभागी हुन लागेका स्थानीय युवा प्रकाश चौहानलाई पथरी शनिश्चरे नगरपालिकाले पूर्ण समर्थन जनाएको छ । नगरप्रमुख मोहन प्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले मंगलबार नगर कार्यपालिकाको कार्यालयमा चौहानलाई भेट गर्दै प्रतियोगिताका लागि सफलताको शुभकामना व्यक्त गर्नुभएकाे हाे ।
भेटका क्रममा नगरप्रमुख तुम्वापोले चौहानजस्तो प्रतिभाशाली युवाले राष्ट्रियस्तरमा सहभागिता जनाउनु नगरकै गौरवको विषय भएको बताउँदै, “हामी नगरपालिका तर्फबाट उहाँलाई आवश्यक आर्थिक, भौतिक र मनोबलका सबै पक्षमा सक्दो सहयोग गर्नेछौं,” भन्दै प्रतिबद्धता जनाउनु भयाे ।
उपप्रमुख काफ्लेले पनि चौहानको आत्मविश्वास र लगनशीलतालाई प्रशंसा गर्दै, “उहाँ पथरी शनिश्चरेको युवा प्रतिनिधि हुनुहुन्छ, हामी सबैको आशा र भरोसा उहाँमा छ”।
चौहान यसअघि मिस्टर नेपाल २०२४ प्रतियोगिताको टप ७ फाइनलिस्ट र ‘मिस्टर एक्टिभ राउण्ड’ का विजेता समेत भइसक्नुभएकाे छ ।
नगरपालिकाको समर्थनप्रति आभार प्रकट गर्दै चौहानले भन्नुभयाे, “मैले यो वर्ष निकै मिहिनेत गरेको छु । एक वर्षको निरन्तर अभ्यास र प्रयास अब म यसपटक देखाउने छु । मलाई आशा छ, तपाईंहरूको साथ र सहयोग सधैं रहनेछ ।”