विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढ्दो क्रममा रहेको छ ।
मोरङ, झापा र सुनसरीमा मात्र एक वर्षमा २२ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
सबैभन्दा बढी चोरी सुनसरीमा भएको प्रहरीले जनाएको छ । सुनसरीमा १२ वटा, मोरङमा ८ वटा र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो दुई दिनमा सुनसरीमा २ ट्रान्सफर्मर चोरी भएका छन् । साउन ६ गते सुनसरीको वराहक्षेत्र–४ जमटोकीमा ट्रान्सफर्मर चोरी भएको थियो । त्यसको तीन दिन नबित्दै साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानमा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । यसअघि जेठ महिनामा मात्र सुनसरीमा ३ वटा ट्रान्सफर्मर चोरी भइसकेका थिए । असार २ गते २ वटा र चैत २४ गते एउटा ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
मोरङमा पनि ट्रान्सफर्मर चोरीको शृङ्खला रोकिएको छैन । जेठ २१ गते ग्रामथान गाउँपालिका–६ झप्टा, जेठ २२ गते रङ्गेली नगरपालिका–७ हराङकालिका र जेठ २३ गते रङ्गेली नगरपालिका–१ जिरायत टोलमा ३ वटा ट्रान्सफर्मर चोरी भएका थिए । झापामा २ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । जुन प्रायः बस्ती नभएका क्षेत्र र सिँचाइ योजनाका लाइनहरूमा जडान भएका थिए ।
चोरहरूले ट्रान्सफर्मर चोरी गर्न उच्च प्राविधिक सीप प्रयोग गर्ने गरेको प्राधिकरणको भनाइ छ । ११ हजार भोल्टको तार सर्ट गराएर लाइन काट्ने र ट्रान्सफर्मर झारेर भित्रको तामाको क्वाइल निकाल्ने मुख्य उद्देश्य रहेको देखिएको प्राधिकरणले जनाएको छ । चोरी हुने ट्रान्सफर्मर ५० केभी र १ सय केभी क्षमताका हुने गरेका छन् ।
५० केभीको ट्रान्सफर्मरको मूल्य ५ देखि ६ लाख रुपैयाँ पर्छ भने १ सय केभीको मूल्य ११ देखि १२ लाख रुपैयाँसम्म पर्छ । यसरी २२ वटा ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई दुई करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको प्राधिकरणले जनाएको छ । पक्राउ नपर्ने जोखिमको कारण पनि चोरीको घटना नरोकेको सिंहको भनाइ छ । अहिले सिँचाइ, खानेपानी र ग्रामीण विद्युतीकरणका अधिकांश ट्रान्सफर्मर चोरीको जोखिममा छन् । यसले विद्युत् आपूर्ति अवरुद्ध हुने मात्र होइन, किसान र उद्योगीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी भएको छ ।
लगातारको चोरीपछि प्रहरीमा उजुरी दर्ता गरिएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष टोली परिचालन गरेको छ । हालसम्म सुनसरीका चार र मोरङको रङ्गेलीका एकजना गरी पाँचजनालाई पक्राउ गरिसकेको छ । तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
प्राधिकरण र प्रहरीले चोरीको घटना केवल वाह्य अपराधी समूहको मात्र नभई प्राविधिकको संलग्नता पनि हुनसक्ने अनुमान गरेका छन् । विद्युत् लाइन, ट्रान्सफर्मर संरचना र सुरक्षा कमजोरीको जानकारी आन्तरिक व्यक्तिबाट बाहिर गएको आशङ्का छ ।
सुनसरी, मोरङ र झापाका ग्रामीण बासिन्दाहरू विद्युत् आपूर्तिमा हुने बारम्बार अवरोध र महँगो प्रतिस्थापन लागतको कारण आक्रोशित छन् । कृषकहरूका अनुसार ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ प्रभावित हुने, खेतीबाली नोक्सान हुने र बक्यौता रकम अनावश्यक रूपमा बढ्ने समस्या छ ।