
विराटनगर।भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा सहभागी हुन लागेकी नेपाली यू–२० महिला फुटबल टोलीलाई बुधबार औपचारिक कार्यक्रमबीच विदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले खेलाडी तथा प्रशिक्षक टोलीलाई शुभकामना दिएका थिए।
विदाई समारोहमा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अघिल्ला खेलहरूमा देखिएका कमीकमजोरी सुधार गर्दै यसपटक छनोट चरणमा सशक्त प्रदर्शन गर्ने लक्ष्य रहेको बताए। त्यस्तै टोलीकी कप्तान बिर्सना चौधरीले तयारी उत्कृष्ट भएको भन्दै नेपालले राम्रो नतिजा दिलाउने विश्वास व्यक्त गरिन्।
नेपाली टोलीले भदौ २३ देखि २८ गतेसम्म भुटानमा हुने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन्।
छनोट चरणमा समूहको शीर्ष स्थान हासिल गर्ने टोलीले सन् २०२५ मा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।