
विराटनगर । नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको आज ७० वर्ष पुगेको छ। यस अवसरमा आज काठमाडौं र बेइजिङमा विविध कार्यक्रम गरी ७० औं वार्षिकोत्सव मनाइँदै छ।
नेपालले सन् १९५५ अगस्ट १ (साउन १६) का दिन चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। यद्यपि, दुई देशबीचको सम्बन्धको जरा ऐतिहासिक रूपमा तिब्बती राजा स्रोङ्चन गम्पो र नेपाली राजकुमारी भृकुटीको विवाहसम्म पुग्छ, जसले सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई पनि मजबुत बनाएको मानिन्छ।
नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार दुवै देशबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, सहयोग र सम्प्रभुताको आधारमा रहेको पञ्चशील सिद्धान्तमा आधारित छ। यस्तो सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकतामा राख्दै समयानुकूल अझ सुदृढ तुल्याउँदै लगिएको उनको भनाइ छ।
चीन राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। विधिमा आधारित विश्व शासन प्रणाली, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र साझापूर्ण भविष्य निर्माणमा उसले दिएको योगदान उल्लेखनीय रहेको पूर्वराजदूत आचार्यले बताए। चीनको द्रुत विकासबाट नेपालले समेत अधिकतम लाभ उठाउँदै समृद्धिको दिशातर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
७० औं वार्षिकोत्सवको अवसरमा आज साँझ काठमाडौंमा विशेष स्वागत समारोह आयोजना हुने भएको छ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चीनका राजदूत छन सङले आयोजना गर्न लागेको स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
नेपाल–चीन सम्बन्धको यो विशेष वर्षलाई दुई देशले मैत्री, सहकार्य र विकासको नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ।