
विराटनगर । अबदेखि सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने नयाँ कारोबार खातामा राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) अनिवार्य हुने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ग्राहक पहिचान प्रक्रिया (KYC) लाई राष्ट्रिय परिचयपत्रसँग जोड्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीहरूलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरेको हो।
नेप्सेले सम्पूर्ण कारोबार सदस्यहरूलाई नयाँ ग्राहकको खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। अब ग्राहकले KYC विवरण नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा भर्नुपर्नेछ।
हालसम्म ग्राहकहरुले नागरिकता प्रमाणपत्रका आधारमा KYC फारम भर्दै आएका थिए।
नेप्सेले पहिल्यै खाता खोली कारोबार व्यवस्थापन प्रणाली (TMS) प्रयोग गरिरहेका ग्राहकहरूलाई पनि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गरी आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले जस्तै सेयर बजारमा पनि राष्ट्रिय परिचयपत्र प्रयोगको दायरा बढाउँदै लगिएको हो। यो कदमसँगै सेयर बजारमा ग्राहक पहिचान प्रणाली थप सुरक्षित र एकीकृत हुने अपेक्षा गरिएको छ।