भारत पुर्‍याइएका सात नेपाली किशोरी उद्धार, मानव तस्करी आरोपमा दुई जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारीको नाममा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ। किशोरीहरूलाई भारत लैजाने क्रममा पक्राउ परेका दुई पुरुषमाथि मानव तस्करीको आरोप लगाइएको छ।

माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार, शुक्रबार भारतीय प्रहरीले किशोरीहरूलाई उद्धार गरेको हो। उद्धारपश्चात् सातै जना किशोरी र दुबै अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका हुन्।

पक्राउ परेका अभियुक्तहरूमा एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेको जनाइएको छ।

उनीहरूले वैदेशिक रोजगारीका लागि किशोरीहरूलाई हङ्कङ लैजाने प्रलोभन देखाएर नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको पानीटङ्की नाका पुर्‍याएका थिए। नक्कली आधार कार्डलगायतका कागजात बनाएर किशोरीहरूलाई सिलिगुढी लैजान लाग्दा भारतीय प्रहरीले पक्राउ गरेको हो।

माइती नेपालको टोली संयोजक घिमिरेसहित शुक्रबार नै पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया पूरा नगरेसम्म किशोरीहरूलाई नेपाल पठाउन नसकिने भन्दै भारतीय प्रहरीले उनीहरूलाई खोरीबारी प्रहरी थानामै राखिएको जानकारी दिएको छ।

उक्त घटनाबारे नेपालतर्फका इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारतीय पक्षबाट औपचारिक जानकारी प्राप्त नभएको बताएको छ।