सप्तकोशीको बहाव बढ्दै, उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा

विराटनगर। तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ, जसले उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न बस्तीहरूमा डुबान र कटानको उच्च जोखिम निम्त्याएको छ। बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका गाउँहरू डुबानको चपेटामा पर्न थालेका हुन्।

नगरपालिकाकी उपप्रमुख जिरा राईका अनुसार ती क्षेत्रहरू नदी कटानको गम्भीर जोखिममा छन्। नदीको सतह खतराको सीमामा पुगेपछि कोठु, डुम्रीबोट, सिसौलीलगायत बस्तीहरूमा पानी नदीको किनार नाघेर बग्न थालेको जनाइएको छ।

बढ्दो जोखिमका बीच, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको टोलीले डुबान तथा कटानको जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अवलोकन गरेको छ। प्रमुख जिल्ला अधिकारी लुइँटेलले स्थानीय बासिन्दालाई सतर्क रहन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिहरनाथ योगीका अनुसार, सम्भावित विपद् अवस्थाको सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ। उद्धार र राहतका लागि आवश्यक उपकरण र स्रोतसाधन पूर्वतयारीका रूपमा तयारी भइसकेको जनाइएको छ।

पूर्वी पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भएपछि कोशी ब्यारेज हुँदै बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव देखा परेको छ।

सोमबार बिहान ६ बजे: १,७५,६८५ क्युसेक/सेकेण्ड ,सोमबार राति ८ बजे: १,७५,६८५ क्युसेक/सेकेण्ड ,राति १० बजे: १,७९,७४० क्युसेक/सेकेण्ड

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, कोशी ब्यारेजको ५२ वटा मूल ढोकामध्ये १९ वटा ढोका खोलिएको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार, पानीको बहाव १.५ लाख क्युसेक/सेकेण्ड नाघेपछि रातो बत्ती बालेर सर्वसाधारणलाई सतर्क गराउने प्रावधान अनुसार चेतावनी बत्ती बालिएको छ।