उदयपुरगढीमा ट्रक दुर्घटना, एक वृद्धको मृत्यु, एक घाइते

विराटनगर । उदयपुरगढी गाउँपालिका–७ स्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटनामा पर्दा, रौतामाई गाउँपालिका–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिएका छन्।

लामिछाने गोठालोबाट घर फर्कँदै गर्दा ट्रकले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुर्घटनामा ट्रकका सहचालक, दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। हाल उनको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको प्रहरीले जनाएको छ।

ट्रक चालक, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।