सामाजिक अभियन्ता शर्मिला वाइबा कास्कीबाट पक्राउ, साइबर अपराधमा मुद्दा

विराटनगर । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनलाई पोखराको लेकसाइड क्षेत्रबाट मंगलबार बिहान नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार वाइबामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो। स्रोतका अनुसार, उक्त उजुरी उनका सहकर्मी शर्मिला श्रेष्ठद्वारा काठमाडौं प्रहरीमा दर्ता गरिएको हो। उजुरीकै आधारमा वाइबालाई कास्कीबाट पक्राउ गरिएको जनाइएको छ।

एसपी ओलियाका अनुसार पक्राउ परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई आजै काठमाडौं पठाइनेछ।

हाल वाइबासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको र थप विवरण सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।