सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ।

राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनाको सुरुवात भारत–नेपाल सीमा नजिक ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेशन’ सञ्चालन गरेपछि भएको हो। उक्त अपरेशनका क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार सोही क्रममा यादवको देब्रे तिघ्रामा गोली लागेको थियो। गम्भीर घाइते उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनास्थलबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ।

यसअघि पनि प्रहरीले साउन १७ गते छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।

सप्तरीको सीमावर्ती क्षेत्रमा नार्कोटिक र मदिरा तस्करी बढ्दै गइरहेका बेला प्रहरीले सुरक्षा सतर्कता कडा बनाएको जनाएको छ।