
विराटनगर । सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका–२ कमलपुरमा गए राति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
घटना राति करिब १०:३० बजे भएको हो। प्रहरीले दिएको जानकारीअनुसार, अवैध मदिरा तस्करी भइरहेको सूचना पाएपछि इन्स्पेक्टरको नेतृत्वमा ९/१० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोली पुग्नेबित्तिकै करिब सय जना स्थानीय बासिन्दाले लाठी, ढुंगा र घरेलु हतियारसहित प्रहरीलाई घेरेर आक्रमण प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ३/४ राउन्ड हवाई फायर गरेको थियो। तर भिड नहटेपछि आत्मरक्षाका लागि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ।
गोली लागेर राजगढ–२ का ३५ वर्षीय लालु यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार, सो स्थानमा ठूलो मात्रामा अवैध मदिरा लुकाइराखिएको सूचना प्राप्त भएपछि ‘सर्च अपरेशन’ चलाइएको थियो। अपरेशनपछि प्रहरीले विभिन्न ब्रान्डका मदिरा बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।