
विराटनगर । साउन २३ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ सुरु गरिएको छ। देशभरका प्रमुख मल्टीप्लेक्स तथा सिंगल स्क्रिन हलहरूले टिकट बुकिङ खुला गरिसकेका छन् भने केही हलमा बुकिङ खुल्ने प्रक्रियामा रहेको निर्माण टिमले जनाएको छ।
दर्शकहरूमा प्रचार सामग्रीबाट सिर्जित चासो र प्रतिक्षालाई ध्यानमा राख्दै विभिन्न हलहरूले *‘सिटामोल’*लाई उल्लेखनीय शो दिएका छन्। देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा १५ र मोफसलका हलहरूमा १६ गरी जम्मा ३१ शो उपलब्ध गराएको छ।
त्यसैगरी, देशकै दोस्रो ठूलो चेन आइएनआई सिनेमाजले ४ आउटलेटमार्फत ११ शो, एफक्युब सिनेमाजले ३ शो, बिग मूभिजले २ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो र किर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन्। रञ्जना, विश्वज्योति, सिके सिनेमाजसहित मोफसलका विभिन्न हलहरूमा पनि बुकिङ खुल्ने तयारीमा रहेकोले ‘सिटामोल’ शुक्रबारसम्म करिब १५० भन्दा बढी शोका साथ प्रदर्शनमा आउने निर्माण टिमको अपेक्षा छ।
पोस्टर, गीत, टिजर र ट्रेलरमार्फत दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको *‘सिटामोल’*ले बक्स अफिसमा उत्साहजनक सुरुआत गर्ने सम्भावना प्रवल रहेको विश्लेषण गरिएको छ।
राज बहादुर सानेको निर्देशनमा बनेको सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।
सिनेमामा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्धन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट तथा दिव्य सुवेदीको छायांकन रहेको छ।