
विराटनगर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई क्षेत्रमा सक्रिय रहेकाले देशभर मनसुनको प्रभाव कायम छ। तर, जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। यस अवधिमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग, साथै देशका अन्य पहाडी भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
मनसुनको मौसम भएकोले पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।