चैतेधानको उचित मूल्य नपाउँदा नवलपुरका किसान निराश

विराटनगर । नवलपुरका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन्।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे। तर, प्रतिक्विन्टल रु. २,२०० मा धान बिक्री गर्नुपरेपछि उनी खिन्न छन्। गत वर्ष भने उनले प्रतिक्विन्टल रु. ३,००० भन्दा बढी मूल्यमा धान बेचेका थिए।

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका आलेका अनुसार समूहका सबै किसान उचित मूल्य नपाउँदा निराश बनेका छन्। पाँच बिघा जमिनमा चैतेधान खेती गरेको समूहले राम्रो उत्पादन गरे पनि न्यून मूल्यका कारण धेरै किसानले धान घरमै थन्क्याएको उनले बताए।

गैंडाकोटका किसान मानबहादुर थारु पनि प्रतिक्विन्टल रु. २,२०० मा धान बेच्न बाध्य भएको बताउँछन्। थारुको गुनासो छ, ‘यो मूल्यमा त लागतसमेत नउठ्ने भयो।’

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूलप्रसाद तिवारीका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल रु. २,८७९ तोकेको छ। तर भारतबाट धान आयात भएका कारण स्थानीय किसानले उचित मूल्य नपाएको हुनसक्ने उनले जानकारी दिए।

यस वर्ष नवलपुर जिल्लामा १,१०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको थियो।