इस्कोन विराटनगरमाद्वारा भव्य कृष्णजन्माष्टमी महोत्सवको तयारी

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले भगवान श्रीकृष्णको जन्मोत्सव कृष्णजन्माष्टमी भव्य रूपमा मनाउने तयारी गरेको छ। संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रावण ३१ गते जैन भवन, विराटनगरमा बिहान ५ बजेदेखि मध्यरात १ बजेसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने जानकारी दिएको हो।

कार्यक्रममा महाअभिषेक, कीर्तन, महायज्ञ, कृष्णकथा, अन्तरविद्यालय चित्रकला तथा नृत्य प्रतियोगिता, बालकृष्ण श्रृङ्गार प्रदर्शन, मटकी फोड प्रतियोगिता र विविध सांस्कृतिक प्रस्तुति रहनेछ। साँझ ६:३० बजे सन्ध्या आरती, राति १२ बजे श्रीकृष्ण जन्मोत्सव र महाअभिषेक हुनेछ।

महाप्रसाद विहान ११ बजेदेखि राति १ बजेसम्म वितरण हुनेछ। गत वर्षजस्तै यस वर्ष पनि करिब १५ हजार भक्तजनले प्रसाद ग्रहण गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपालसहित भारत, बेलायत लगायतका देशका भक्तजन, आध्यात्मिक गुरुहरू र २० हजारभन्दा बढी सनातन धर्मावलम्बीको सहभागिता रहनेछ।

कार्यक्रममा कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बर बहादुर बिष्ट लगायत राजनीतिक तथा प्रशासनिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ।

अन्तरविद्यालय सांस्कृतिक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः रु.३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन्। चित्रकला प्रतियोगितामा पुरस्कार राशि क्रमशः रु.१५ हजार, १० हजार र ५ हजार हुनेछ।

इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार महोत्सवको उद्देश्य नेपाली सनातन संस्कृतिको जगेर्ना, धार्मिक एकता, आध्यात्मिक चेतनाको वृद्धी, युवा पुस्तामा नैतिकता र धर्मप्रति प्रेरणा जगाउने रहेको छ।

इस्कोनको स्थापना सन् १९६६ मा जगतगुरु श्रील प्रभुपादद्वारा अमेरिका, न्युयोर्कमा गरिएको हो। नेपालमा भने वि.सं. २०४७ मा दर्ता भई धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा २५ लाख देखि ३० लाख सम्म लागत खर्च लाग्ने अनुमान गरिएको छ।