
विराटनगर। साउन महिनाको अन्तिम सोमवारका अवसरमा आज देशभरका शिवालयहरूमा विशेष पूजा आराधना गरिँदैछ। पशुपतिनाथ मन्दिरसहितका शिवधामहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।
साउन महिनालाई भगवान शिवको विशेष महिना मानिने धार्मिक परम्परा अनुसार भक्तजनहरूले महिनाभर व्रत बस्ने र अन्तिम सोमवार विशेष पूजा गरेर व्रत समापन गर्ने गर्दछन्। धार्मिक विश्वासअनुसार साउनको सोमवारमा भगवान शिवको आराधना गरे मनोकांक्षा पूरा हुने मान्यता छ।
शिव पुराणसहितका धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार, साउनमा शिवको पूजा आराधना गर्नु आध्यात्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस अवसरमा महिलाहरूले हरियो चुरा र हरियो वस्त्र लगाई शिवको आराधना गर्ने परम्परा छ, जसले शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि प्रकट गर्दछ।