मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनको सक्रियता बढेसँगै आज (मंगलबार) देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको नजिकै रहेकाले देशभर बदलीयुक्त मौसम छ। बिहानैदेखि कतिपय स्थानमा वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र कोशी, मधेश तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रका धेरै ठाउँ र मधेशलगायत तराईका केही स्थानमा मध्यम वर्षा पर्न सक्नेछ।

विशेषगरी कोशी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा हुने र कोशी, मधेश र बागमती प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले पानीको मात्रा धेरै हुने सम्भावनाका कारण भू–क्षय, बाढी तथा अवरोधको जोखिम रहने चेतावनी दिएको छ।