मोरङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–१ की ४० वर्षीया दुर्बी सतारको पतिको कुटपिटबाट मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार राति पति बाबुधन सतारले घरायसी विवादका क्रममा दुर्बीलाई कुटपिट गरेका थिए। कुटपिटबाट उनको कानमा गम्भीर चोट लागेको थियो। अवस्था बिग्रिएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो।

अवस्था अझै गम्भीर भएपछि आफन्तले उनलाई घर फर्काएका थिए। तर घर लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले बाबुधन सतारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।