
विराटनगर। भारतको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको एआई १७१ बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त हुँदा २०४ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। विमान उडेको दुई मिनेटभित्रै मेघनगरस्थित मेडिकल कलेजको इन्टर्न चिकित्सकको होस्टेलमा ठोकिएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

विमानमा २३४ यात्रु र दुई जना पाइलटसहित १२ जना चालक दल गरी २४२ जना सवार थिए। दुर्घटनामा विमानमा सवार यात्रुका साथै होस्टेलमा रहेका केही चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुको समेत ज्यान गएको पुष्टि भएको छ। घाइतेहरुको अहमदाबादस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि घटनास्थलमा प्रहरी र उद्धार टोली पुगेका थिए। ७ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा एम्बुलेन्ससहितको मेडिकल टिमले घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, तथा विपक्षी दलका नेता राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको जनाइएको छ।
भारतीय अधिकारीहरुका अनुसार विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानाडेली र सात जना पोर्चुगिज नागरिक थिए। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त विमानमा कुनै नेपाली नागरिक सवार थिएनन्।
क्रानफिल्ड विश्वविद्यालयका एयरोस्पेस तथा एभिएसन निर्देशक ग्राहम ब्रेथवेटका अनुसार दुर्घटनामा परेको बोइङ ७८७–८ ड्रीमलाइनर अहिलेको अत्याधुनिक यात्रुबाहक विमानमध्ये एक हो र यसअघि यस्तो मोडेलको विमान कुनै ठूलो दुर्घटनामा नपरेको थियो।
भारतीय अधिकारीका अनुसार विमान उडान भरेको दुई मिनेटमै मेकानिकल समस्या देखिएको थियो। पाइलटद्वय सुमित सभरवाल (८,२०० घण्टा उडान अनुभव) र क्लाइव कुंदर (१,१०० घण्टा उडान अनुभव) ले विमान नियन्त्रण गर्ने प्रयास गरे पनि विमान मेघनगरस्थित मेडिकल कलेजको इन्टर्न होस्टेलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनाअघि विमानले एअर ट्राफिक कन्ट्रोललाई खराबीको जानकारी गराएको थियो तर सम्पर्क विच्छेद भइसकेको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन्।