
विराटनगर । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन सुरु गरेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।
यसअन्तर्गत १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीका लागि छुट्याइएको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि भदौ ११ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न कम्पनी उच्च जोखिममा रहेको सङ्केत गर्दछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।