
विराटनगर। मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो।
मधेस प्रदेशसँगै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भागमा सामान्य बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।