गुल्मीमा माछा पोखरीमा पुरुषको शव फेला

विराटनगर। गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहले सञ्चालन गर्दै आएको माछा पोखरीमा एक पुरुषको शव फेला परेको छ।

मंगलबार बेलुकी स्थानीयले पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतक गुल्मीदरबार गाउँपालिका–१ घर भई हाल चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा बस्दै आएका ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री हुन्।

क्षेत्री विगत २० वर्षदेखि ६९ वर्षीय टेकबहादुर रजालीको घरमा बस्दै आएका थिए। मंगलबार बिहान करिब ८ बजे बजार जान्छु भन्दै घरबाट निस्किएका उनी साँझ पोखरीमा मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।