सुर्तीको निहुँमा बाल सुधार गृहमा झडप

 

विराटनगर ।  बाल सुधार गृहहरू नै ‘यातना गृह’ झैं बन्दा विराटनगर ३ स्थित बाल सुधार गृहमा बुधबार दिउँसो झडपको घटना भयो ।

एक पोका सुर्ती (खैनी) भित्रिएको विषयमा सोधपुछ गर्दा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा सुधार गृह भित्र झडपको अवस्था सिर्जना भएको हो । त्यसमा विगतदेखिका अनेकौं असन्तुष्टि र कुण्ठा अभिव्यक्त गर्ने क्रममा झडप हुन पुगेको देखिएको छ । घटनामा  नेपाल प्रहरीका सहायक निरीक्षक (असई) शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरनकुमार मण्डल घाइते भएका छन् । टाउकोमा चोट लागेका मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ भने चौधरीलाई सामान्य चोट लागेको मोरङ प्रहरीले जनाएको छ ।

केही दिनअघि सुधार गृहभित्र रहेका केही बालकले सुर्ती सेवन गरेको पाइएपछि यही साउन ५ गतेदेखि कार्यभार सम्हालेका सुधार गृहका प्रमुख गायत्रीप्रसाद ढकालले सोधपुछका लागि बोलाएका थिए । सोधपुछकै क्रममा अन्य बाल बिज्याइँकर्ताहरू पनि एकैपटक कार्यकक्षमा प्रवेश गरी हो–हल्ला र आक्रमणमा उत्रिएका थिए ।

लगत्तै ३० देखि ५० जना बाल बिज्याइँकर्ताहरू मुख्य गेट तोडेर बाहिर निस्किएका थिए । तर उनीहरुलाई तत्काल परिचालन भएको प्रहरी टोलीले नियन्त्रणमा लिएर गृहभित्र ल्याउन सफल भएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, समयमै सुरक्षा सतर्कता अपनाइएकाले कोही पनि भाग्न नपाएको बताए ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनारको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपमा उत्रिएकाहरूले सुधार गृहको मेस(भान्सा) भवन, सुरक्षा ब्यारेक, कार्यालयका कोठा, झ्यालका सिसा र कुर्सीहरू तोडफोड गरी क्षति पु¥याएका छन् । क्षतिको विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो घटना विराटनगर बाल सुधार गृहको पहिलो होइन । यसअघि पनि नाइके र ‘क्याप्टेन’ले नयाँ आउनेहरूलाई दिने यातनाका कारण झडप भएको थियो, जसमा रड र दाउरासमेत प्रयोग हुँदा सात जना घाइते भएका थिए ।नाम ‘बाल सुधार गृह’ भए पनि यहाँको अवस्था सुधार गराउने ढंगको भने नभएको बालकहरूको गुनासो छ । ५० जनाको क्षमता भएको यस सुधार गृहमा हाल २४९ जनालाई राखिएको छ, जुन क्षमताभन्दा झण्डै पाँच गुणा बढी हो । एउटै कोठामा खाँदिएर २५ जनासम्म सुत्नुपर्ने बाध्यता छ । ‘एउटै तलामा एउटा मात्र शौचालय छ, ५० जनाभन्दा बढीले प्रयोग गर्नुपर्छ,’ एक जना बालकले भने, ‘महिनामा एक पटक मात्र नुहाउन पाइन्छ, धेरैलाई लुतो र खटिराको समस्या छ ।’

उनीहरूले खानाको गुणस्तरमाथि पनि प्रश्न उठाएका छन् । पातलो दाल र भन्टा, जस्ता तरकारी मात्र खुवाइने गरेको, घरमा सम्पर्क गर्नबाट बञ्चित गराइएको कारण मानसिक तनावमा समय गुजार्नुपर्नै अवस्था रहेको उनीहरुले बताए ।
विराटनगरको मात्र होइन, देशभरका बाल सुधार गृहको अवस्था लगभग उस्तै छ । गैरसरकारी संस्था सिविन नेपालले हालै गरेको एक अध्ययनले सबै सुधार गृहको अवस्था रुग्ण देखाएको छ । सबैभन्दा ठूलो समस्या भनेको १८ वर्षमुनिका बालबालिकासँगै वयस्कहरूलाई पनि राखिनु हो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पुगेकाहरूलाई अन्य बालबालिकाबाट अलग राख्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा यो लागू हुन सकेको छैन । विराटनगर सुधार गृहमा रहेका २४९ मध्ये अधिकाशं १८ वर्षभन्दा माथिका छन् । अदालतको आदेश र वैकल्पिक व्यवस्थाको अभावमा उनीहरूलाई यहीँ राख्न बाध्य भएको सुधार गृह प्रशासनको भनाइ छ ।

यसरी वयस्कहरूलाई सँगै राख्दा साना उमेरकाहरूमाथि हेप्ने, कुटपिट गर्ने र आफ्नो नियन्त्रणमा राख्ने जस्ता गतिविधि बढेका छन् । यस्ता समूहले नै लागूऔषधको ओसारपसार गर्ने र झडपका घटना घटाउने गरेको पाइएको छ ।बाल सुधार गृहमा हुने यस्ता घटनाहरू हुनुमा सरकारी उदासीनता मुख्य कारण भएको सरोकारवालाहरुको भनाइ छ । सुधार गृहहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालित छन् र त्यहाँ हतियारधारी सुरक्षाकर्मी राख्न मिल्दैन, जसले सुरक्षा चुनौतीलाई थप बढाइदिएको छ ।