उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमाले सक्रिय, सांसदहरूबाट हस्ताक्षर संकलन

सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीमा जुटेका छन् । उक्त उद्देश्यका लागि दुवै दलले आफ्ना सांसदहरूसँग हस्ताक्षर संकलन सुरु गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहानैदेखि सांसदहरूलाई बोलाइ हस्ताक्षर गराउने क्रम चलिरहेको छ । पार्टीका पदाधिकारी बैठकमा छलफलपछि यो प्रक्रिया अघि बढाइएको हो ।
यता, एमालेले पनि आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित प्रमुख सचेतक महेश बर्तौलाको कार्यकक्षमा हस्ताक्षर गर्न बोलाएको छ । एमालेका एक सांसदका अनुसार दिउँसो २ बजेसम्म हस्ताक्षर प्रक्रिया सक्ने तयारी गरिएको छ ।

बालुवाटारमा रणनीतिक बैठक
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भएको बैठकमा उपसभामुख हटाउने विषयमा निर्णय भएको हो । बैठकमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए । स्रोतका अनुसार, सामाजिक सञ्जालसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलाको समीक्षा गर्नुका साथै रानालाई हटाउने प्रक्रिया अघि बढाउने सहमति त्यहीँ बनेको थियो ।

भिसा सिफारिस विवाद फेरि चर्चामा
उपसभामुख रानामाथि अमेरिकाको भिसा सिफारिसका लागि आफ्नो पद प्रयोग गर्दै अमेरिकी राजदूतावासमा पत्र पठाएको आरोप लाग्दै आएको छ । यो विवाद यसअघि पनि उठेको भए पनि दलगत असहमतिका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, यसपटक कांग्रेस र एमाले दुवै दलको सहकार्यमा प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो ।

पार्टी निकट स्रोतका अनुसार संसदमा आवश्यक समर्थन सुनिश्चित गरेपछि पदमुक्त गर्ने प्रस्ताव दर्ता गरिनेछ ।