भारतको अहमदावादमा विमान दुर्घटना : २४१ जनाको मृत्यु, एक मात्र जीवित यात्रु उपचाररत

विराटनगर । भारतको अहमदावादमा भएको भीषण विमान दुर्घटनामा २४१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। एयर इन्डिया कम्पनीको बोइङ ७८७–८ विमान दुर्घटनामा परेको हो।

कम्पनीले सामाजिक सञ्जालमार्फत् दुर्घटनाको पुष्टि गरेको हो। लन्डन जानका लागि उडेको उक्त विमान उडान भरेको केही मिनेटमै धानव मार्गबाट मास्तिर गएको र त्यसपछि खसेर आगलागी भएको बताइएको छ।

भारतीय गृहमन्त्री अमित शाहले घटनास्थलको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै विमानमा रहेका कुल २४२ मध्ये एक जना मात्र जीवित रहेको पुष्टि गरेका छन्। उनका अनुसार बाँचेका यात्रु भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार हुन्। गुजरात नजिकैको केन्द्रशासित प्रदेश दीवका बासिन्दा कुमारले विमान एक्कासी हल्लिएर ठूलो आवाजसहित बजारिएको बताएका छन्।

भारतीय समयअनुसार दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लन्डनका लागि उडेको विमान २ बजेर ४० मिनेटमै दुर्घटनामा परेको हो। विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए।

दुर्घटनापछि स्थानीय बासिन्दाले रमेशलाई गम्भीर अवस्थामा उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याएको बताइएको छ। हाल उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

सरकारी संयन्त्रद्वारा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।