नबिल बैंकलाई ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’

विराटनगर । नबिल बैंक ‘युरोमनी अवार्ड फर एक्सिलेन्स, २०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ। बैंकिङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड मानिने यो सम्मान युरोमनी म्यागजिनले प्रदान गर्दै आएको हो।

नबिल बैंकले वार्षिकरूपमा सञ्चालन गर्दै आएका दिगो बैंकिङका कार्यक्रमहरूको मूल्यांकनका आधारमा यो अवार्ड प्रदान गरिएको हो। ग्राहक सेवा, प्रविधिको प्रभावकारी प्रयोग, दिगोपनाका पहल र अन्तर्राष्ट्रिय मान्यताका आधारमा बैंकलाई सम्मान गरिएको बैंकले जनाएको छ।

पछिल्ला पाँच वर्षदेखि नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडीजी) आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरणीय, सामाजिक र सुशासन (ESG) सम्बन्धित सिद्धान्तलाई प्राथमिकता दिएको छ। बैंकले वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनलाई आधार बनाएर कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङ प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको छ।

बैंकका यिनै कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै यसपटक नबिललाई सम्मान गरिएको हो। यसअघि पनि नबिल बैंक सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा युरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित भइसकेको छ।

हाल नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ।