
विराटनगर । इसराइलले शुक्रबार बिहान इरानमाथि सैन्य आक्रमण गरेको छ। इरानको राजधानी तेहरानस्थित आणविक भट्टी र लामो दुरीका मिसाइल उत्पादन कारखाना इसराइली हमलाको मुख्य निशाना बनेका छन्।

अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार राजधानी तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। आक्रमणपछि ठूलो धुवाँ निस्किरहेको तस्बिर तथा भिडियोहरू इरानी स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना सैनिकहरूले इरानको आणविक भट्टी र मिसाइल कारखाना ध्वस्त पारेको पुष्टि गरेका छन्। उनले ‘अपरेसन राइजिङ लायन’ नाम दिइएको यो कारबाही इरानबाट इसराइललाई बढ्दो खतरा न्यूनीकरण गर्न थालेको बताएका छन्।
प्रधानमन्त्री नेतन्याहूका अनुसार यो अपरेशन आवश्यक परे जति दिनसमेत जारी रहनेछ। टेलिभिजन सम्बोधनमा उनले भने, “केही समय अघि इसराइली सेनाले ‘अपरेसन राइजिङ लायन’ सुरु गर्यो, जुन इसराइलको अस्तित्व रक्षाका लागि इरानी खतरालाई हटाउने अभियान हो। यो कारबाही जबसम्म इरानको खतरा समाप्त हुँदैन, तबसम्म जारी रहनेछ।”
इसराइली आक्रमण रोक्न इरानले आफ्नो फाइटर जेटहरू परिचालन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। इरानी सेनाका उच्च अधिकारीले सैन्य तयारी उच्चस्तरमा पुर्याइएको जानकारी दिएका छन्।
घटनापछि इरान-इसराइल तनाव अझ चुलिने आशंका गरिएको छ। विश्व शक्तिहरूले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरिरहेका छन्।