
विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको “कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को विरोधमा पत्रकारहरूले संसद भवन परिसरमै धर्ना दिएका छन् ।
निषेधित क्षेत्र मानिने कोशी प्रदेशसभा भवनको सभामुख प्रवेशद्वार नजिकै पत्रकारहरूले धर्ना दिएका थिए । धर्ना क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल तथा घम्साघम्सी समेत भएको थियो ।
संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमै धर्ना दिएको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशले संसदको गेट अगाडि धर्ना दिएको थियो । प्रहरीले संसदीय पत्रकारलाई भवन परिसरबाट बाहिर निकालेपछि संयुक्त रुपमा गेट अगाडि शान्तिपूर्ण धर्ना गरिएको थियो । तर त्यहाँ पनि प्रहरीले हस्तक्षेप गर्दा पत्रकार र प्रहरीले केहीबेर तनाब झेलेका थिए ।
धर्नामा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, सचिवद्वय ध्रुव भट्टराई र अरविन्द मेहता, संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुइँटेल, प्रेस सेन्टर कोशीका महासचिव तथा मञ्चका उपाध्यक्ष गोकुल पराजुली, प्रेस युनियनका पूर्व उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन आचार्य, प्रेस चौतरी कोशी प्रदेशका सदस्य श्यामसुन्दर सुतीहार, प्रेस सेन्टर कोशीकी उपाध्यक्ष सुजता लिम्बू, समाजवादी प्रेस संगठनका उत्तम पोखरेल, फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठलगायत पत्रकार उपस्थित रहेका थिए ।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर आज प्रदेशसभामा पेस भएको हो । सो विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएपछि पत्रकारहरूले तीव्र असन्तुष्टि जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ कोशी शाखाका अध्यक्ष भरत खड्काले प्रेस स्वतन्त्रतामाथि प्रहार हुने गरी ल्याइएको प्रावधान स्वीकार्य नहुने बताए ।
यसैबीच, नेपाल पत्रकार महासंघ कोशी प्रदेश, प्रेस युनियन केन्द्रीय समिति, प्रेस सेन्टर कोशी प्रदेश समिति, संसदीय पत्रकार मञ्च कोशीलगायतका सञ्चारकर्मी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयक सच्याउन माग गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रता विरोधी प्रावधानलाई तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।