मोरङमा अटो दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ धोबीयारेमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को२ह ६२६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा परि ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वास गम्भीर घाइते भएका थिए। विराट शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

सोही अटोमा सवार ग्रामथान–७ कै ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन्। उनीहरुको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रहरीको भनाइ छ।