देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबताससहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने देखिएको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।