
विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगरमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–०४५प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सोही क्रममा प ९०६९ नम्बरको मोटरसाइकल ना७ख ५०१० नम्बरको बसमा समेत ठोक्किएको थियो।
दुर्घटनामा प ९०६९ नम्बरको मोटरसाइकलमा पछाडि सवार पर्साको वीरगन्ज महानगरपालिका–१३, मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठ र उनका ४८ वर्षीय श्रीमान् प्रवीण श्रेष्ठ घाइते भएका थिए।
गम्भीर घाइते कविताको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले जानकारी दिए। घाइते प्रवीणको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।