 
विराटनगर । अप्पन समाज कोशी प्रदेश विराटनगरले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेको छ। विराटनगर–१३ स्थित मनोकामेश्वर शिव मन्दिरमा धर्मसंरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महादेव पूजनसहितका कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख जजमान रामप्रताप यादवको अगुवाइमा पार्थिव शिव पूजन, रुद्राभिषेक, कुमारी पूजा, भजन–कीर्तन, हवन तथा आरतीलगायतका धार्मिक अनुष्ठान गरिएको अप्पन समाज विराटनगरका महासचिव राकेश रोशन यादवले जानकारी दिनुभयो।
त्यस्तै, समाजका कोषाध्यक्ष विरेन्द्र भगतका अनुसार अप्पन समाजले निरन्तर रूपमा धार्मिक गतिविधिमा सक्रिय रहँदै आएको छ। विशेषगरी कुसेऔंसीको अवसरमा विगत दुई वर्षदेखि अप्पन समाजको अगुवाइमा शिव मन्दिरमा विशेष पूजाअर्चना हुँदै आएको छ।

मन्दिरका पुजारी रामकुमार शास्त्रीका अनुसार यस वर्षको महादेव पूजन कार्यक्रममा माटोको मुर्ति र पौराणिक कालमा प्रयोग गरिने सामग्री समेत राखी पूजाअर्चना गरिएको थियो। दैनिक बिहान–साँझ पूजा भइरहे पनि कुसेऔंसीको दिन अप्पन समाजको विशेष सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको उहाँले बताउनुभयो।

 
                 
                 
           
           
           
           
          