
विराटनगर । विराटनगरमा दुई दिने श्री राणी सती महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । श्री राणी सती महोत्सव आयोजक समिति विराटनगरले शुक्रबार र शनिबार आयोजना गरेको महोत्सवमा ३ हजारभन्दा बढी श्रद्धालु तथा दर्शकहरूको सहभागिता रह्यो ।
विराटनगरको अतिथि सदनमा आयोजना गरिएको महोत्सवमा महिलाको सहभागिता विशेष रूपमा बढी रहेको थियो । महोत्सवको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार एक समारोहबीच गरेका थिए ।
भदौ औँसीको अवसर पारेर आयोजना गरिएको महोत्सवमा विराटनगरका समाजसेवी एवं धार्मिक व्यक्तित्वहरू देवकिनन्दन अग्रवाल, श्रवण अग्रवाल, राजकुमार अग्रवाल, गोविन्द झुनझुनवाला, अशोक झुनझुनवाला, सुधिर तोदी, गोपाल अग्रवाल, आशिष जटिया, श्याम सराबगी, सञ्जय अग्रवाल, बालकृष्ण देवडा, गोपालकृष्ण अग्रवाल लगायत मारवाडी समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूको सहयोग रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवको पहिलो दिन शुक्रबार मेहन्दी उत्सव, चुरा उत्सव र भजनकृतन कार्यक्रम आयोजना गरिएको थियो । यस क्रममा नेपाल र भारतका भजन टोलीहरूले भक्तिमय प्रस्तुति दिएका थिए ।
त्यसैगरी, दोस्रो दिन शनिबार सामूहिक संगीतसहित मंगलपाठ, गजरा उत्सव, महाआरती र महाप्रसाद वितरण गरी महोत्सव सम्पन्न गरिएको थियो ।
आयोजक समितिका अनुसार महोत्सवले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव अभिवृद्धि गर्न ठूलो योगदान पुर्याएको छ ।