विद्यालयको भवन निर्माण सकिए पनि पठनपाठन सुरु भएन

विराटनगर। मोरङको रंगेली नगरपालिका–३ स्थित रत्न माध्यमिक विद्यालयको ४ कठ्ठा जग्गामा संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। तर विद्यालय भने हालसम्म सञ्चालनमा आउन सकेको छैन।

अपाङ्गता अधिकार ऐन, २०७४ अनुसार परिभाषित १० प्रकारका अपाङ्गता मध्ये श्रवण शक्ति कम भएका तथा बोल्न नसक्ने बालबालिकालाई लक्षित गरी कोशी प्रदेश सरकारमार्फत संघीय सरकारको बजेटबाट उक्त विशेष विद्यालय निर्माण गरिएको हो।

रंगेली, सुनवर्सी, कानेपोखरी र धनपालथान गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका तथा अतिविपन्न परिवारका श्रवण शक्तिविहीन बालबालिकालाई लक्षित गरी स्थापना गरिएको यो विद्यालय हालसम्म सञ्चालन नहुँदा लक्षित वर्गका बालबालिकाहरू पठनपाठनबाट वञ्चित भइरहेका छन्।

बौद्धिक अपाङ्गता आवासीय भवन निर्माणका लागि पहिलो चरणमा संघीय सरकारको ७२ लाख रुपैयाँ र प्रदेश सरकारको ९५ लाख रुपैयाँ गरी कुल १ करोड ६७ लाख रुपैयाँ लागतमा दुईतले पक्की भवन निर्माण गरिएको हो। पाँच कोठे उक्त भवनमा छात्रावाससहितका सुविधा उपलब्ध छन्।

हाल रंगेली नगर क्षेत्रमा १४१ जना श्रवण शक्ति नभएका व्यक्तिहरू रहेको र तीमध्ये १३ जना बालबालिकाहरू विद्यालय जाने उमेरका रहेका छन्। यद्यपि ती बालबालिकाहरू अन्य विद्यालयहरूमा अध्ययन गर्न बाध्य छन् जहाँ उनीहरूलाई पठनपाठनमा विभिन्न कठिनाइ भोग्नुपरेको र अन्य थुप्रै बालबालिका घरमै बस्न बाध्य भएको रंगेली बहिरा संघका अध्यक्ष चेतबहादुर बरालले साङ्केतिक भाषामा बताए।

बरालका अनुसार विद्यालय सञ्चालनका लागि विगतदेखि नै नगरपालिकालाई पटक–पटक आग्रह गरिए पनि “हुन्छ” भन्ने आश्वासन मात्र पाइएको छ, तर काम अघि नबढेको गुनासो उनले गरे।

यसैबीच, रंगेली नगरपालिका वडा नं. ३ का अध्यक्ष भरत प्रसाईंले विद्यालय सञ्चालनका लागि केही काम मात्र बाँकी रहेको बताउँदै आगामी केही महिनाभित्र सम्पूर्ण प्रक्रिया सकाएर विद्यालय सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए।

अपाङ्ग संघ विराटनगरका फडिन्द्रराज बरालका अनुसार हाल देशभर ३.५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क छ। तीमध्ये बौद्धिक अपाङ्गता भएका बालबालिकाको संख्या उच्च छ।