तिजमा पशुपतिनाथ दर्शनका लागि विशेष व्यवस्था

विराटनगर । हरितालिका तिज पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा भगवान पशुपतिनाथको दर्शन गर्न सकिने गरी विशेष व्यवस्था मिलाएको जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कोषले दर्शनका लागि भक्तजनले चार अलग–अलग मार्ग प्रयोग गर्न सक्ने जानकारी गराएको छ। साथै सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद वितरण, जुत्ता–चप्पल कक्ष, आकस्मिक स्वास्थ्य सेवा तथा भजन–कीर्तनलगायतका तयारी अन्तिम चरणमा पुगेको कोषले बताएको छ।

तिज पर्व यही भदौ १० गते परेको छ। भक्तजनको भीडलाई व्यवस्थित गर्न मन्दिरका सबै ढोका बिहान ३ बजेदेखि नै खोलिने कोषले जनाएको छ।

 

चार दर्शन मार्ग यसप्रकार रहेका छन् :

१. गौरीघाट मार्ग — गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजन उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था।

२. मित्रपार्क मार्ग — मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै भक्तजन फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिरिने व्यवस्था।

३. पिंगलास्थान मार्ग — पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट निस्कने व्यवस्था।

४. तिलगङ्गा मार्ग — तिलगङ्गा–राम मन्दिर हुँदै बागमतीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजन पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था।

कोषले भक्तजनले छिटो, सहज र सुरक्षित वातावरणमा पूजा–दर्शन गर्न सकून् भन्ने उद्देश्यले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।