विद्यालय शिक्षा विधेयकविरुद्ध विराटनगरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

विराटनगर। विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी विद्यालय सञ्चालकहरूले सोमबार विराटनगरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालय संगठनद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनमा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीसहित मोरङ र सुनसरीका पदाधिकारीहरूको सहभागिता थियो। उनीहरूले विराटनगरका मुख्य सडकमा विरोध र्‍याली निकालेका थिए।

विधेयकमा उल्लेखित पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने व्यवस्था र निजी विद्यालयलाई गैरनाफामूलक संस्था घोषित गर्ने प्रावधानबारे आपत्ति जनाउँदै उनीहरूले सो प्रावधान हटाउन माग गरेका छन्। माग पूरा नभए देशभर निजी विद्यालय बन्द गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।

उक्त विधेयकको प्रतिवेदन संघीय संसदीय समितिबाट पारित भइसकेको छ, जसले निजी विद्यालय सञ्चालकहरूलाई थप आन्दोलित बनाएको छ।