
विराटनगर । विराटनगरको आरोहण गुरुकुलले लोकप्रिय मनोसामाजिक उपन्यास ‘एक चिहान’ मा आधारित नाटक मञ्चन गर्ने भएको छ। हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित यस उपन्यासलाई नाट्य रूपान्तरण गरी आउँदो भदौ ११ गतेदेखि गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदर्शन गरिने भएको हो।
माध्यमिक शिक्षा परिषद्को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरिएको यो उपन्यासलाई विद्यार्थी तथा कलाकारहरूका लागि सहज बनाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको आयोजकले जनाएको छ। विराटनगर र आसपासका नयाँ कलाकारहरूको खोजी गर्दै गरिएको कार्यशालापछि यस नाटकको पूर्वाभ्यास सम्पन्न भएको हो। नाटक संयोजक देवेन्द्र यादवका अनुसार, नाटक भदौ महिनाभर नियमित रूपमा प्रदर्शन गरिनेछ।
नाटकले करिब सात दशकअघिको नेपाली समाजको यथार्थ चित्रण गरेको छ। प्रजातन्त्रपछिको प्रगतिशील सोच, सांस्कृतिक सम्मिश्रण, लैंगिक समानताको आवश्यकता, जातीय विभेद, रुढीवाद तथा अन्धविश्वासलाई स्वाभाविक पात्र र घटनाक्रममार्फत व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
नाटकमा अष्टनारानको भूमिकामा महेश पासवान, लतमायाको भूमिकामा संगीता यादव, शिवनारानको भूमिकामा उद्धव सापकोटा, हाकुमायाको भूमिकामा दिक्षा चौधरी, पुननारनको भूमिकामा गौरव खतिवडा, सिन्तलीको भूमिकामा उपासना राई र हर्षनारानको भूमिकामा शिवराज भुजेलले अभिनय गर्नेछन्। अन्य भूमिकामा भरत कार्की, प्रदीप दाहाल, अमिशा वाग्ले, सागर घिमिरे, निशान चौहान राई र दिव्याङ्का खड्का देखिनेछन्।
सास्थम कलेज, बगैंचा र विराट किचनको सहयोगमा प्रस्तुत हुने यस नाटकको परिकल्पना तथा निर्देशन दीपेश भण्डारीले गरेका हुन्। नाटकमा भरत कार्कीको प्रकाश परिकल्पना, विकास पराजुलीको मञ्च परिकल्पना, कलाकार राजन काफ्लेको चित्रकला तथा कवि रमेशचन्द्र अधिकारीको पाश्र्व आवाज रहनेछ।
संस्थाका अध्यक्ष भैरव क्षेत्रीका अनुसार, विद्यालय र सरोकारवालाहरूको मागअनुसार नाटकको विशेष प्रदर्शन व्यवस्थापन पनि गरिनेछ।