
विराटनगर। चार भाइ इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली चलचित्रका सुपरस्टार नायक प्रदीप खड्कासँग “मिट एण्ड ग्रीट विद प्रदीप खड्का” कार्यक्रम मेरिल्याण्डको गेथेस्बर्गमा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागीहरुले खड्कासँग उनको फिल्मी यात्रादेखि व्यक्तिगत जीवनसम्मका अनुभवबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाए। प्रश्नोत्तर कार्यक्रममा दर्शकहरुले खड्काको चलचित्र क्षेत्रमा पुर्याएको योगदानबारे प्रश्न सोधेका थिए। साथै, उनीसँग फोटो खिच्ने र टिकटक बनाउनेहरुको उल्लेख्य भीड देखिएको थियो।
‘यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र पाएको सम्मानले मलाई अझ भावुक बनाएको छ। यसले मलाई अझ जिम्मेवार बनाएको अनुभूति भएको छ,’ अभिनेता खड्काले भावुक हुँदै प्रतिक्रिया दिए।
परदेशमा नेपाली कलाकारसँग भेट गर्ने अवसर पाएकोमा उपस्थित नेपाली कलाप्रेमीहरु उत्साहित बनेका थिए। उनीहरुले यस्तो अवसर प्रदान गरेकोमा आयोजक चार भाइ इन्टरटेन्मेन्टलाई धन्यवाद ज्ञापन गरे।
चार भाइ इन्टरटेन्मेन्टका प्रमुख दिवश बनका अनुसार यो कार्यक्रम पहिलो पटक मेरिल्याण्डमा आयोजना गरिएको भए पनि यसलाई उल्लेखनीय सफलता हासिल गर्न सकिएको छ। उनले भने, ‘नेपाली कलाकार र कलालाई संसारभर चिनाउने हाम्रो प्रयास सफल भएकोमा हामी खुशी छौं।’
चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा सम्पन्न कार्यक्रममा रियल्टर सन्तोष कोइरालालगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमबाट उत्साहित चार भाइ इन्टरटेन्मेन्टका अर्का प्रमुख उत्सव रिमालले निकट भविष्यमा डी.एम.भी. क्षेत्रमा लक्षित भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।