गाजाको नासेर अस्पतालमा इजरायली आक्रमण, १५ जनाको मृत्यु, ४ पत्रकारसहित

विराटनगर। गाजा पट्टीको दक्षिणी भागमा रहेको नासेर अस्पतालमा इजरायली आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये चार जना पत्रकारसमेत रहेका छन्।

रोयटर्सका अनुसार आक्रमणमा उनका क्यामेराम्यान हुसम अल-मसरीको मृत्यु भएको छ। अन्य तीन जना पत्रकार अल जजीरा, एसोसिएटेड प्रेस (एपी) र एनबीसीसँग आवद्ध रहेका बताइएको छ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागले प्रारम्भिक आक्रमणमा धेरैको मृत्यु भएको र उद्धारकर्मीहरू घटनास्थलमा पुगेको बेला दोस्रो आक्रमण हुँदा थप मृत्यु भएको जनाएको छ।

फुटेजमा गाजाको दक्षिणी भागस्थित मुख्य अस्पताल नासेरबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। एक भिडियोमा, एक डाक्टरले पत्रकारहरूलाई रगतले लतपतिएको लुगा देखाइरहेका बेला अर्को आक्रमण भएको देखिएको छ।

हालसम्म इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।