
सुनवर्षी । सुनवर्षी नगरपालिकामा निर्माण भइरहेको झपरतर–बरडंगा कालोपत्रे सडकको प्रगतिलाई नगरप्रमुख श्याम प्रसाद राजवंशीले प्राविधिक टोलीसहित अनुगमन गरेका छन्।
अनुगमनका क्रममा नगरप्रमुख राजवंशीले ठेकेदार र निर्माण कार्यमा संलग्न पक्षलाई तोकिएको मापदण्डअनुसार गुणस्तरीय काम गर्न निर्देशन दिएका छन्। उनले गुणस्तरमा लापरबाही भए दीर्घकालीन रूपमा स्थानीयवासीलाई असुविधा हुने भन्दै चेतावनीसमेत दिएका छन्।
“यो सडक हाम्रो नगरका लागि महत्वपूर्ण विकास योजना हो। यसले यहाँका बासिन्दालाई सहज यातायात सुविधा उपलब्ध गराउनेछ। त्यसैले गुणस्तरीय र मापदण्डअनुरूपको काम गर्नुपर्छ,” नगरप्रमुख राजवंशीले भने।
प्राविधिक टोलीले पनि निर्माण कार्यलाई निरन्तर अनुगमन गर्ने र मापदण्डअनुसार नपुगे तत्काल सुधार गर्नुपर्ने जनाएको छ।
स्थानीयवासीले सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरेका छन्। सडक पूरा भएपछि आसपासका बस्तीहरूमा आवागमन सहज हुने र सामाजिक–आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।