
विराटनगर । राजधानी काठमाडौंमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। बिहीबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बूढानीलकण्ठलगायत केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंमा आज दिनभर वर्षा दोहोरिनेछ। “केही घण्टापछि केही समयका लागि वर्षा रोकिए पनि फेरि पानी पर्नेक्रम जारी रहन्छ,” उनले बताए। उनका अनुसार राति पनि काठमाडौंका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।
पुडासैनीले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले हाल नेपालभर वर्षा भइरहेको बताए। विभागका अनुसार भोलि पनि काठमाडौंमा आजकै जस्तै मौसम रहनेछ।
यसैबीच, आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र लुम्बिनी तराई, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका धेरै स्थान तथा अन्य भूभागका केही स्थानमा मध्यम वर्षा हुने विभागले अनुमान गरेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग र लुम्बिनी तथा कोसी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको समेत विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।