आज ऋषि पंचमी ।

विराटनगर । आज ऋषि पंचमी ।  ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि ग्राह्य मानिन्छ ।

भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ।

जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत महिलाहरुद्वारा गर्ने चलन बसेर गयो ।

यो पौराणिक कर्म हो । यसका उप द्रष्टा ऋषि सबरतमा हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो । मध्यान्हकालको स्नान, रेशमी कपडा को पहिरन, शाकाहारी बिशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन, ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ।

सात घडा, सात ब्राह्मण जसलाई अन्तमा ऋषिहरुको सातै प्रतिमा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ । यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्राह्मणलाई तथा अन्यलाइ ऋषि प्रतिमासहित बस्त्रहरु दक्षिणाको रुपमा दिनु पर्दछ ।

पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिकोलागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो । शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा चाहि महिलाले मात्र यो ब्रत लिने गरेको देखिन्छ ।

यस दिन ब्रतालुहरु कुनै पवित्र नदी नाला, तलाउ वा घरमै गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाइको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्त ऋषिहरुको प्रतिमालाइ पंचामृत स्नान गराएर सेता बस्त्र, सेता फूल, अक्षता, दूध, दहि, घ्यू , मह, चिनी, नैबेद्द, जनै, आठवटा पान सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ ।

वराहमिहिरको बृहत्संहिता अनुसार स्वायाम्भुव मन्वन्तरका ऋषिहरू मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु; र साध्वी अरून्धती वसिष्ठ ऋषि संग पूजा गरिन्छ । कोहि व्यक्तिहरु बैबश्वत मन्वनतरकै ऋषिहरू कश्यप ,बशिष्ठ ,भारद्वाज ,गौतम, जमदग्नि, अत्रि, विश्वामित्रको पूजा गर्दछन ।