
विराटनगर । बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा मार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी दिन सकिनेछ। आईपीओ आवेदन छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।
यस आईपीओका लागि केयर रेटिङ नेपाल ले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै कोटामा आईपीओ जारी गरिसकेको थियो। कम्पनीलाई ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त छ। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता स्थानीयवासीका लागि र २ लाख ७ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको हो।